काठमाडौं । इजरायलले पूर्वी जेरुसेलमस्थित बेलायती वाणिज्य दूतावास बन्द गर्ने निर्णय अघि बढाएपछि त्यहाँ कार्यरत अधिकांश बेलायती कूटनीतिज्ञ फिर्ता हुने भएका छन्।
यद्यपि, बेलायतले भने दूतावास पूर्ण रूपमा बन्द नहुने स्पष्ट पारेको छ। इजरायलका विदेशमन्त्री गिडोन सारले सामाजिक सञ्जालमार्फत दूतावासमा कार्यरत २० जना कूटनीतिज्ञ र कन्सुल जनरलले इजरायल छाड्ने जानकारी दिएका छन्। उनका अनुसार दूतावासको भवनमा सात सदस्यीय टोली भने रहनेछ, तर उनीहरूको गतिविधि निकै सीमित हुने जनाइएको छ। सारले यो अवस्था आफूहरूले चाहेको नभएको उल्लेख गर्दै दूतावासको गतिविधि सीमित हुने निर्णयबारे जानकारी दिएका हुन्।
तर बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डले सुरक्षाको कारण केही कर्मचारीलाई अस्थायी रूपमा फिर्ता बोलाइएको भए पनि पूर्वी जेरुसेलमस्थित बेलायती मिसन बन्द नहुने बताएका छन्। उनका अनुसार उक्त भवनले ‘यूके मिसन’का रूपमा कामलाई निरन्तरता दिनेछ र प्यालेस्टिनी जनतासँग सहकार्य गर्ने बेलायतको प्रतिबद्धता कायमै रहनेछ। इजरायलले गत सेप्टेम्बरमै पूर्वी जेरुसेलमस्थित बेलायती वाणिज्य दूतावास बन्द गर्ने चेतावनी दिएको थियो। बेलायतले कब्जा गरिएको वेस्ट बैंकमा रहेका इजरायली बस्तीमाथि प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रियास्वरूप इजरायलले यस्तो कदम चाल्न लागेको बताएको थियो। अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जा गरिएको वेस्ट बैंकमा रहेका इजरायली बस्तीलाई अवैध मानिन्छ। यही विषयलाई लिएर बेलायत र इजरायलबीच पछिल्लो समय कूटनीतिक तनाव बढ्दै गएको छ।