काठमाडौं ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वलाई लक्षित गर्दै लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुला गर्ने भएको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’का अनुसार शुक्रबार बिहानदेखि यात्रुले आफूले यात्रा गर्ने गन्तव्यका लागि अग्रिम टिकट लिन सक्नेछन् । चाडपर्वका बेला बढ्ने यात्रुको चापलाई व्यवस्थित गर्नुका साथै टिकटमा हुन सक्ने अनियमितता र ठगी नियन्त्रण गर्न आवश्यक तयारी गरिएको उनले बताए ।अग्रिम टिकट लिँदा यात्रुले आफ्नो गन्तव्य, यात्रा गर्ने मिति तथा समय र सिट नम्बर राम्रोसँग जाँच गर्नुपर्ने महासंघले जनाएको छ । काउन्टर वा अनलाइन जुनसुकै माध्यमबाट टिकट लिए पनि यी विवरण सही भए नभएको यकिन गर्न अध्यक्ष सिटौलाले आग्रह गरेका छन् ।
महासंघले टिकट बिक्रीका क्रममा तोकिएकोभन्दा बढी भाडा असुल्ने तथा टिकट लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमाथि निगरानी बढाउने जनाएको छ । त्यस्तो कार्य भेटिएमा सम्बन्धित व्यक्तिमाथि कारबाही गरिने सिटौलाले बताए ।यात्रुलाई सकेसम्म भीडभाडबाट जोगिन आधिकारिक टिकट काउन्टर वा विश्वसनीय अनलाइन माध्यमबाट मात्रै टिकट खरिद गर्न महासंघले अनुरोध गरेको छ । साथै, चाडपर्वको यात्रालाई सुरक्षित बनाउन व्यवसायीलाई सवारीसाधनको अवस्था जाँच गर्न र चालकलाई आवश्यक सावधानी अपनाउन पनि महासंघले निर्देशन दिएको छ ।