काठमाडौं । साउदी अरबले बाढी तथा विपद् प्रभावितका लागि नेपाललाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ।
साउदी अरबको राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत उपलब्ध गराइएको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा उक्त सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे। सहायता सामग्री बुझ्दै मन्त्री पुनले विपद्का बेला नेपाललाई सहयोग गरेकोमा साउदी अरबप्रति आभार व्यक्त गरे। उनले प्राप्त सहयोगले नेपाल र साउदी अरबबीच रहेको मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउने बताए।
साउदी राजदूतावासका अनुसार केएस रिलिफको विशेषज्ञ टोलीले नेपाली सम्बन्धित निकायसँग समन्वय गरेर उक्त मानवीय सहायता सामग्री भोटेकोशी बाढीबाट प्रभावित परिवारसम्म पुर्याउनेछ। बाढीका कारण प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन यो सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। साउदी अरबको यो पहलले विपद्को समयमा दुई देशबीचको मानवीय सहकार्य र आपसी सहयोगलाई थप बलियो बनाएको जनाइएको छ।