काठमाडौं ।बाराको निजगढ नगरपालिका–१२ रामथलीमा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले प्रहार गरेका थिए। घटनामा सुकुमाया सामान्य घाइते भएपछि स्थानीय मेडिकलबाट चिकित्सक बोलाएर घरमै उपचार गरिएको थियो।उपचारपछि सुकुमाया खाना खाएर राति करिब ८ बजे सुतेकी थिइन्। भोलिपल्ट बिहान करिब ४ बजे श्रीमान् विजयले उनलाई उठाउन खोज्दा प्रतिक्रिया नदिएपछि मृत्यु भएको थाहा भएको प्रहरीले जनाएको छ। घटनाबारे बिहान ६ः४० बजे अस्थायी प्रहरी पोस्ट रतनपुरमा जानकारी गराइएको थियो।
सूचना पाएलगत्तै सम्बन्धित प्रहरी अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारामा पठाएको छ।घटनामा संलग्न भएको आरोपमा विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।