काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्का कारण प्रभावित भएका क्षेत्र र नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।
बिहीबार मुख्यमन्त्री कार्यालयमा आयोजित प्रदेशको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा उनले उद्धार तथा राहतका प्रारम्भिक कामपछि अब पुनर्निर्माणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।मुख्यमन्त्री थापाले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोतको व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले उपलब्ध बजेटलाई प्राथमिकताका आधारमा परिचालन गर्दै प्रभावित क्षेत्रको पुनःस्थापना गर्नुपर्नेमा जोड दिए।
प्रदेशमा पछिल्लो समय भएका विपद्का घटनाबाट ठूलो जनधनको क्षति भएको र केही नागरिक अझै बेपत्ता रहेको उल्लेख गर्दै उनले बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिए।उनका अनुसार उद्धार, उपचार तथा खाद्यान्न वितरणलगायतका तत्कालीन काम सम्पन्न भइसकेकाले अब आन्तरिक मामिला मन्त्रालयको समन्वयमा पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक छ।
बजेटको सीमिततालाई ध्यानमा राख्दै मुख्यमन्त्री थापाले कम प्राथमिकताका कार्यक्रम तथा बजेटलाई पुनरावलोकन गरी आवश्यकताअनुसार विपद् प्रभावित क्षेत्रमा स्रोत परिचालन गर्न सकिने बताए।बैठकमा मुख्यमन्त्री थापाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउने विषयलाई समेत प्राथमिकतामा राख्न निर्देशन दिए। उनले सहकारी सञ्चालक वा अन्य कुनै पक्षको दबाबमा नपरी प्रचलित कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
त्यसैगरी, चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्ने भएकाले सम्भावित चोरी तथा डकैती नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि उनले निर्देशन दिएका छन्।बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, सञ्चार रजिस्ट्रार रेवती सापकोटालगायत अधिकारीहरूको सहभागिता थियो।