काठमाडौँ ।ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको काम पुनः अघि बढाइएको छ।
करिब एक वर्षदेखि रोकिएको भवनको टावर तथा संरचना निर्माणको काम अहिले पुनः सुरु भएको आयोजनाले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागेको उक्त टर्मिनल भवनको ठेक्का कोशी–क्षमादेवी–प्रतिष्ठा जेभीलाई दिएको थियो। २०७९ चैत ६ गते भएको सम्झौताअनुसार ३६ महिनाभित्र अर्थात् तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो।
तर सम्झौता अवधि सकिँदासम्म निर्माणको करिब ४० प्रतिशत काम पनि पूरा हुन नसकेपछि गत चैतमा थप एक वर्षको समय दिइएको आयोजना प्रमुख चन्द्रमणि सापकोटाले जानकारी दिए। आयोजनाले निर्माण कार्यलाई निरन्तरता दिन पटक–पटक ठेकेदार कम्पनीलाई पत्राचार गरे पनि अपेक्षित रूपमा काम अघि बढ्न सकेको थिएन। थप सुविधा नदिने गरी म्याद थप गरिएको आयोजनाले जनाएको छ। २०८२ चैतमा म्याद थप भए पनि ठेकेदारले २०८३ भदौदेखि मात्र सीमित कामदार परिचालन गरेर निर्माणलाई पुनः गति दिन थालेको हो। आयोजना प्रमुख सापकोटाका अनुसार टर्मिनल भवनको ट्रस निर्माणको काम अघि नबढेसम्म भौतिक प्रगति उल्लेख्य रूपमा देखिने अवस्था छैन।
दुई तले टर्मिनल, आठ तले कन्ट्रोल टावर
हाल सञ्चालनमा रहेको टर्मिनल भवनभन्दा करिब २०० मिटर पश्चिमतर्फ नयाँ भवन निर्माण भइरहेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ चैत १६ गते नयाँ टर्मिनल भवनको शिलान्यास गरेका थिए। नयाँ भवन निर्माण सम्पन्न भएपछि व्यस्त समयमा एक हजार यात्रुले सेवा लिन सक्ने अपेक्षा गरिएको छ। करिब १४ कठ्ठा क्षेत्रफलमा निर्माण हुने भवनको संरचना ८ हजार वर्गमिटरमा फैलिनेछ। दुई तले भवनमा आठ तले कन्ट्रोल टावर, तीनवटा लिफ्ट, तीनवटा स्केलेटर, एसी तथा आगलागीको पूर्वसूचना दिने प्रणाली जडान गरिनेछ। हालको टर्मिनल भवन करिब ६२ वर्षअघि निर्माण भएको हो। पुरानो भवन जीर्ण र साँघुरो हुनुका साथै यात्रुमैत्री नभएकाले नयाँ टर्मिनल भवनको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको छ।
रनवे विस्तारको तयारी पनि सुस्त
भरतपुर विमानस्थलको रनवे विस्तार गर्ने योजनाअनुसार नयाँ टर्मिनल भवनलाई हालको संरचनाभन्दा पश्चिमतर्फ निर्माण गर्न लागिएको हो। विमानस्थलको विद्यमान धावनमार्ग छोटो भएकाले ठूला जहाजको उडान तथा अवतरणमा समस्या हुँदै आएको छ। यही कारण यहाँबाट रात्रिकालीन उडानसमेत सञ्चालन हुन सकेको छैन। हाल १ हजार २०० मिटर लामो रहेको रनवेलाई कम्तीमा १ हजार ५०० मिटर पुर्याउने लक्ष्य राखिएको छ। रनवे विस्तारका लागि नेपाली सेनाको पश्चिमतर्फ रहेको घोडा प्रजनन केन्द्रको जग्गा प्रयोग गर्ने प्रक्रिया अघि बढाइएको भए पनि कामले अपेक्षित गति लिन सकेको छैन। सेनाको मातहतमा रहेको ७० बिघा ८ कठ्ठा ४ धुरमध्ये १९ बिघा जग्गा विमानस्थलको रनवे विस्तारका लागि उपलब्ध गराउने निर्णय गरिएको थियो। घोडा प्रजनन केन्द्रका लागि आवश्यक संरचना तथा पूर्वाधार निर्माणको बजेट सरकारले उपलब्ध गराउने निर्णयसमेत गरिएको थियो।
काठमाडौँबाहेक अन्य गन्तव्यमा उडान छैन
भरतपुर विमानस्थलले २०१७ साल फागुन २२ गतेदेखि हवाई सेवा दिँदै आएको छ। देशको मध्यभागमा रहेको तथा चितवनलाई पर्यटकीय, स्वास्थ्य, आर्थिक र राजनीतिक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा हेरिने भएकाले विमानस्थलको विस्तारलाई आवश्यक मानिएको छ। विगतमा भरतपुरबाट यती एयरलाइन्स, बुद्ध एयर र सिम्रिक एयरले विभिन्न गन्तव्यमा उडान गर्दै आएका थिए। अहिले भने बुद्ध एयरले मात्र नियमित उडान सञ्चालन गरिरहेको छ।कुनै समय दैनिक करिब ८ सय यात्रुले सेवा लिने विमानस्थलमा हाल करिब ५ सय यात्रुले हवाई सेवा लिँदै आएका छन्। विगतमा भरतपुरबाट काठमाडौँ, पोखरा र भैरहवासम्म उडान हुने गरे पनि अहिले नियमित रूपमा भरतपुर–काठमाडौँ उडान मात्रै सञ्चालनमा रहेको छ।