काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव अझै कायम रहेकाले देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसोको मौसम
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा भने चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा भने थोरै स्थानमा चट्याङ, असिना र हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको मौसम
आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। aमधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।