काठमाडौं । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दीगो बनाउने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा बुधबार भएको छलफलमा टेलिमेडिसिन सेवाको विस्तार तथा व्यवस्थापनका विभिन्न पक्षबारे समीक्षा गरिएको हो। छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, विभागका निमित्त महानिर्देशक, पाटन र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायतको सहभागिता थियो। बैठकमा टेलिमेडिसिन सेवा नियमित र दीगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति तथा संस्थागत संरचनाका विषयमा छलफल गरिएको थियो। सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिको छुट्टै व्यवस्थापन गरी सेवाको निरन्तरता र प्रभावकारिता कायम गर्ने विषयमा समेत सहभागीहरूले जोड दिएका थिए।
त्यसैगरी, टेलिमेडिसिनमार्फत बिरामीलाई प्रदान गरिने परामर्श तथा उपचारसम्बन्धी विवरणलाई व्यवस्थित रूपमा अभिलेख राख्ने र बिरामीको व्यक्तिगत जानकारी सुरक्षित गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको थियो। सेवा विस्तार हुँदै जाँदा भविष्यमा देखिन सक्ने प्राविधिक, व्यवस्थापकीय तथा अन्य चुनौतीको पहिचान गरी समयमै समाधानका लागि आवश्यक तयारी गर्नुपर्नेमा बैठकका सहभागीहरू सहमत भएका छन्। विशेषगरी टेलिमेडिसिन सेवा प्रयोग गर्ने व्यक्तिको पहिचान प्रमाणीकरणलाई भरपर्दो र व्यवस्थित बनाउनुपर्ने विषयमा जोड दिइएको थियो।
मन्त्री मेहताले टेलिमेडिसिन प्रविधिमा आधारित सेवा मात्रै नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताइन्। उनले सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक नीतिगत तथा व्यवस्थापकीय व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। छलफलका क्रममा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन नीतिगत, प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा आवश्यक सुधार गर्दै अघि बढ्ने सहमति भएको छ। बैठकले छलफलबाट प्राप्त सुझावका आधारमा आगामी कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेको छ।