काठमाडौं ।नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सार्वजनिक खरिदसँग जोडिएका अनियमितताका विषयमा संसदीय समिति गम्भीर रहेको बताएका छन्।
उनले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्ने स्पष्ट पारे।बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले यस्तो बताएका हुन्।उनका अनुसार पोसाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै आएका उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरिएको हो। उपसमितिले आवश्यक कार्यविधिसमेत तय गरिसकेको उनले जानकारी दिए।
अध्ययनका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई आधार बनाएर खरिद प्रक्रिया, बजेट व्यवस्थापन, बोलपत्र, ठेक्का प्रक्रिया, सामग्रीको गुणस्तर, मूल्य निर्धारण तथा आपूर्ति व्यवस्थापनलगायत विषयलाई विस्तृत रूपमा हेरिने महरले बताए।उनले अध्ययनका क्रममा कुनै किसिमको अनियमितता वा कमजोरी पुष्टि भएमा थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिस गरिने जानकारी दिए। तर, कुनै उजुरी वा आरोप आउँदैमा त्यसलाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उनको भनाइ छ।
महरले छानबिनका क्रममा संविधान, प्रचलित कानुन र निर्धारित प्रक्रियाको पूर्ण पालना गरिने बताए। साथै, यो विषय कुनै एक व्यक्ति वा संस्थालाई लक्षित गरेर नभई राज्यका निकायमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यले अघि बढाइएको उनको भनाइ छ।उपसमितिको मुख्य लक्ष्य तथ्य र प्रमाणका आधारमा साझा निष्कर्ष निकाल्नु रहेको बताउँदै महरले राज्यका संस्थालाई थप पारदर्शी, जिम्मेवार र प्रभावकारी बनाउन अध्ययन केन्द्रित हुने स्पष्ट पारे।