काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५औँ महाधिवेशनलाई ऐतिहासिक र विगतका महाधिवेशनभन्दा फरक रहेको बताएका छन्।
उनका अनुसार यसपटक नीति, सिद्धान्त र आगामी कार्यदिशामाथि समेत गम्भीर छलफल भएकाले महाधिवेशनले कांग्रेसको सोच र नीतिमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। महाधिवेशनको बन्दसत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले आफूले विगतका बन्दसत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशाका विषयमा यसरी छलफल भएको नदेखेको बताए। ‘मैले विगतका बन्दसत्रहरूमा नीति, सिद्धान्त र भावी कार्यदिशाबारे यसरी छलफल भएको देखेको थिइनँ। त्यसैले यो महाधिवेशन मेरा लागि पनि कांग्रेसको नयाँ अनुभव हो,’ उनले भने। उनले महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले कांग्रेसको राजनीतिक भूमिकालाई समेत संकेत गरेको दाबी गरे। मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिकामा कांग्रेस रहेको उनको भनाइ थियो।
आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको आकर्षण र विश्वास बढ्दै गएको दाबी गरे। विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भनेर टिप्पणी गरिए पनि अहिले १८ वर्षका युवायुवतीदेखि विभिन्न उमेर समूहका नागरिक पार्टीसँग जोडिएको उनले बताए। ‘पहिले कांग्रेसलाई बूढोहरूको पार्टी भनिन्थ्यो। तर अहिले १८ वर्षका युवा–युवती पनि कांग्रेसमा जोडिएका छन्,’ उनले भने, ‘यसले कांग्रेस सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित हुँदै गएको देखाउँछ।’ मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै आङ्देम्बेले बहुमतको नाममा ‘अल्गोरिदम’बाट सत्तामा पुगेकाहरूले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाए। उनले अहिलेको नेतृत्वप्रति महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले विश्वास कायम राख्दै पार्टीलाई अघि बढाउनुपर्ने बताए। उनले १५औँ महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले कांग्रेसलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्नेमा जोड दिए। महाधिवेशनबाट पार्टीभित्र नयाँ राजनीतिक दृष्टिकोण र आगामी कार्ययोजनाको आधार तयार हुने उनको अपेक्षा थियो।