काठमाडौं । ‘गाउँको उत्पादन सहरमा, रैथाने स्वाद घर–घरमा’ भन्ने मूल नारासहित काठमाडौंको टोखा–धापासी हाइटस्थित रैथाने घरमा ‘दशैं बजार २०८३’ आयोजना हुने भएको छ।
असोज २३ देखि २५ गतेसम्म सञ्चालन हुने बजार प्रत्येक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने आयोजकले जनाएको छ। दशैंलाई लक्षित गरी आयोजना गरिएको बजारमा नेपालका विभिन्न गाउँ–ठाउँबाट ल्याइएका रैथाने कृषि उपज, स्थानीय उत्पादन तथा नेपाली मौलिक खाद्य सामग्रीहरू उपलब्ध हुनेछन्। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै उपभोक्तालाई गाउँघरका मौलिक स्वाद र उत्पादनसँग जोड्ने उद्देश्यले बजार आयोजना गरिएको हो।बजारमा किनमेल गर्ने ४० जनाभन्दा बढी भाग्यशाली ग्राहकले विभिन्न आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन्।
उपहारमा फर्सीदेखि बोकासम्मका सामग्री राखिएको आयोजकले जनाएको छ।त्यस्तै, नेपाली मौलिक परिकारतर्फ योमरी, बारा, माडा, सेलरोटी, भुटन, चिउरालगायत विभिन्न परिकारको स्वाद लिन सकिनेछ। दशैं बजारमा बालबालिकाका लागि पनि विशेष आकर्षणका रूपमा परम्परागत लिङ्गे पिङको व्यवस्था गरिएको छ। आयोजकले दशैंको किनमेलसँगै नेपाली रैथाने स्वाद, संस्कृति र स्थानीय उत्पादनको अनुभव लिन बजारमा सहभागी हुन आग्रह गरेको छ।