काठमाडौं ।भारतले सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्ने भन्सार घटाएपछि नेपालमा त्यसको प्रभाव पर्न सक्ने भन्दै स्वदेशी खाने तेल उद्योगीहरूले नेपाल सरकारले पनि भन्सार दर पुनरावलोकन गर्नुपर्ने माग गरेका छन्।
भारत सरकारले सेप्टेम्बर २४ देखि सूर्यमुखी तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा लाग्दै आएको भन्सार दर साढे १६ प्रतिशतबाट घटाएर साढे ५ प्रतिशतमा झारेको हो। भारतमा पाँच प्रतिशत जीएसटीसमेत जोड्दा सूर्यमुखी तेलको उत्पादन लागत नेपालभन्दा कम पर्ने व्यवसायीहरूको भनाइ छ।भारतमा तेल सस्तो भएपछि सीमावर्ती क्षेत्रबाट अवैध रूपमा सूर्यमुखी तेल नेपाल भित्रिने जोखिम बढ्न सक्ने उनीहरूले बताएका छन्। नेपालमा भने सूर्यमुखी तेलको कच्चा पदार्थमा हाल १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ।
खाने तेल व्यवसायी तथा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार भारतले भन्सार घटाएपछि त्यहाँ सूर्यमुखी तेलको मूल्य प्रतिलिटर करिब १० रुपैयाँसम्म घटेको छ। यस्तो अवस्थामा भारतबाट हुने अवैध आयात नियन्त्रण गर्न नसकिए नेपाली उद्योगलाई बजारमा प्रतिस्पर्धा गर्न थप कठिन हुने उनले बताए।राठीले भारतको नयाँ भन्सार नीतिले नेपाली खाने तेल उद्योगमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले सरकारले स्वदेशी उद्योगको संरक्षणका लागि आवश्यक कदम चाल्नुपर्ने बताए। विशेषगरी सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्ने भन्सार दर घटाउनुपर्ने उनको माग छ।
यसैबीच भारतले कच्चा भटमास र पाम तेलको भन्सार दर पनि साढे १६ प्रतिशतबाट घटाएर साढे ११ प्रतिशतमा सीमित गरेको छ। यी दुई प्रकारका तेलमा नेपाल र भारतबीचको भन्सार अन्तर तुलनात्मक रूपमा कम रहेकाले चोरी आयातको जोखिम धेरै नरहेको व्यवसायीहरूको भनाइ छ।तर सूर्यमुखी तेलमा भारतले भन्सार दर उल्लेख्य रूपमा घटाएकाले नेपाली बजारमा त्यसको प्रभाव बढी देखिन सक्ने व्यवसायीहरूले बताएका छन्।