काठमाडौं ।भक्तपुरको डोलेश्वर क्षेत्रमा सञ्चालनमा रहेको डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी थालेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम गरी १६ लाख २० हजार कित्ता साधारण शेयर जारी गर्ने योजना अघि सारेको हो। उक्त शेयर निष्कासनबाट कम्पनीले करिब १६ करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोन मा प्रस्ताव पेश गरेको जनाएको छ। हालै सम्पन्न कम्पनीको साधारण सभामा सञ्चालक समितिका अध्यक्ष रामनाथ मैनालीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको जानकारी दिएका थिए।
कम्पनीका अनुसार आईपीओबाट प्राप्त हुने रकम रिसोर्टको व्यवसाय विस्तार, आवश्यक पूर्वाधार निर्माण तथा रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति गर्न प्रयोग गरिनेछ।डोलेश्वर महादेव मन्दिर, भक्तपुरको सांस्कृतिक सम्पदा तथा काठमाडौं उपत्यकाबाट आउने पर्यटकलाई लक्षित गर्दै रिसोर्टले आफ्नो व्यवसाय अघि बढाइरहेको जनाएको छ।रिसोर्टको ११औँ वार्षिक साधारणसभामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरमा पर्यटन विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रबाट स्थानीयको आयआर्जन बढाउने कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका थिए।उनले स्थानीय स्तरमा पर्यटकीय गतिविधि विस्तार गर्न रिसोर्टले गरेको लगानीको प्रशंसा गर्दै यस्ता प्रयासले भक्तपुरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखेका थिए।