काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वमाथि प्रश्न वा आलोचना गरे कारबाही भोग्नुपर्ने निर्देशनप्रति असन्तुष्टि जनाएका छन्।
उनले यस्तो प्रवृत्तिले इतिहासमा ‘कृष्णलाल अधिकारी’ जस्ता पात्र जन्माएको स्मरण गराउँदै नेतृत्वलाई सचेत गराएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत भट्टराईले सत्ता र शक्तिमा रहेकाहरूले आफैँ कानुन उल्लङ्घन गर्ने तर अरूलाई भने कानुन पालना गर्न निर्देशन दिने प्रवृत्तिमाथि प्रश्न उठाएका हुन्। उनले यस्तो अवस्था सिर्जना हुँदा विरोध र प्रश्न गर्ने व्यक्तिहरू जन्मिने उल्लेख गर्दै ‘मकैको खेती’को प्रसंग जोडेर नेतृत्वप्रति व्यंग्य गरेका छन्।
भट्टराईले लेखेका छन्, ‘सत्ता र शक्तिवालाहरू आफैँ कानुनको धज्जी उडाउँछन्, कानुन उल्लङ्घन गर्छन् अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्। तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ रु’ कृष्णलाल अधिकारीले लेखेको ‘मकैको खेती’ तत्कालीन राणा शासनविरुद्धको चेतना फैलाउने महत्त्वपूर्ण कृतिका रूपमा लिइन्छ। यही ऐतिहासिक प्रसंगलाई जोड्दै भट्टराईले अहिलेको राजनीतिक परिस्थितिप्रति संकेत गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानी–३ मा पार्टी नेतृत्वमाथि प्रश्न उठाउने वा आलोचना गर्नेहरूलाई कारबाही हुनसक्ने चेतावनी दिइएको सन्दर्भमा भट्टराईको यस्तो अभिव्यक्ति आएको हो।