काठमाडौं ।त्रिशूली–भोटेकोशी क्षेत्रमा भएको विपद्को अध्ययन गर्न गठित विशेष संसदीय समितिको टोली नुवाकोटको विदुर नगरपालिका पुगेको छ।
समितिले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा तीनै तहका सरकारका प्रतिनिधिसँग भेट गरी विपद्का क्रममा भएको क्षति तथा त्यसपछिको अवस्थाबारे जानकारी लिएको हो।टोलीले खोज तथा उद्धारको प्रगति, राहत वितरण र अस्थायी आवासको अवस्था, आधारभूत सेवा तथा सञ्चार सम्पर्क पुनःस्थापनाका प्रयासबारे जानकारी संकलन गरेको छ। साथै प्रभावित क्षेत्रको सुरक्षित पुनर्स्थापना र पुनर्वास, दीर्घकालीन पुनर्निर्माण तथा भविष्यमा विपद्को जोखिम घटाउन अपनाउनुपर्ने उपायबारे पनि स्थानीय पक्षसँग सुझाव लिइएको समितिका सभापति गणेश पराजुलीले जानकारी दिए।
छलफलका क्रममा स्थानीय प्रतिनिधिहरूले सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत आधारभूत सेवा तथा सम्पर्क सञ्जाल तत्काल पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन्। आवश्यक परे कानुन संशोधन गरेर भए पनि प्रभावित क्षेत्रका समस्या छिटो समाधान गर्न उनीहरूले समितिमार्फत सरकारलाई आग्रह गरेका छन्।गत भदौ १० गते त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विपद्बाट भएको क्षति र त्यसपछिको अवस्थाको अध्ययन गरी दीर्घकालीन पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि सुझाव दिन पराजुलीको नेतृत्वमा विशेष संसदीय समिति गठन गरिएको हो।