काठमाडौं । जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो भूभागमा वर्षा भएपछि हुम्लाको जनजीवन प्रभावित भएको छ ।
मंगलबार रातिदेखि मौसममा आएको अचानक परिवर्तनसँगै जिल्लाका विभिन्न क्षेत्रमा वर्षा र हिमपात भइरहेको हो । नाम्खा, सिमकोटलगायत उच्च तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत तल्लो क्षेत्रमा रातिदेखि हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक गतिविधिमा समेत असर परेको छ ।
लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटो हिलाम्मे भएका छन् । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि आवतजावत र यातायात सेवा प्रभावित भएको स्थानीयले बताएका छन् । सर्केगाड–१ जैरको खच्चाका स्थानीय दीपक कार्कीका अनुसार खच्चा क्षेत्रमा सुक्खा पहिरोको समस्या पहिलेदेखि नै रहेकाले निरन्तरको वर्षाले सडक थप जोखिमपूर्ण बनेको छ । वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुने अवस्था सिर्जना भएको उनले बताए ।
वर्षा र हिमपातले पाक्न लागेको अन्नबाली तथा खेतबारीमा रहेका तरकारीलगायतका बालीमा समेत क्षतिको जोखिम बढाएको छ । केही स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ । मौसममा आएको परिवर्तनले पशुचौपायासमेत प्रभावित भएका छन् । चिसो बढेपछि खुला ठाउँ तथा गोठमा राखिएका पशुचौपायालाई आहार र संरक्षणमा समस्या हुन थालेको जनाइएको छ ।
उच्च हिमाली क्षेत्रमा थप हिमपात तथा तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित जोखिमबाट जोगिन स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जिल्लाका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको भन्दै सुरक्षित रहन आग्रह गरेका छन् । उनका अनुसार वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ भने जिल्लामा वर्षा अझै जारी छ ।