लन्डन । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल साताव्यापी औपचारिक भ्रमणका क्रममा बेलायतमा छन्।
बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा उनी आश्विन १९ गते बेलायत प्रस्थान गरेका हुन्। उनको भ्रमण आश्विन २५ गतेसम्म रहनेछ। बेलायत पुगेपछि प्रधान सेनापति सिग्देलले लन्डनस्थित ह्वाइटहलको हर्स गार्ड्स एभेन्युमा रहेको ऐतिहासिक गोर्खा स्मारकमा पुगेर पुष्पहार अर्पण गरेका छन्। गोर्खा सैनिकहरूले बेलायती सेनामा पुर्याएको योगदान, वीरता र त्यागको सम्मान गर्दै उनले स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका हुन्।
हिथ्रो विमानस्थलमा उच्चस्तरीय स्वागत
लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गरेपछि प्रधान सेनापति सिग्देललाई बेलायतका तर्फबाट मेजर जनरल द राइट होनरेबल द लर्ड लांकास्टर अफ किम्बोल्टनले स्वागत गरेका थिए। नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो समयदेखि विशेष मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ। दुई देशबीचको सम्बन्ध कूटनीतिक सम्बन्धमा मात्र सीमित नभई रक्षा सहकार्य तथा जनस्तरको सम्बन्धसँग समेत जोडिएको छ।
गोर्खा सैनिकलाई नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धको महत्वपूर्ण कडीका रूपमा लिइँदै आएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति सिग्देलको बेलायत भ्रमणले नेपाल र बेलायतबीचको लामो समयदेखिको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, सैनिक कूटनीतिको माध्यमबाट नेपालको परराष्ट्र सम्बन्धलाई थप प्रभावकारी बनाउन समेत भ्रमण महत्वपूर्ण हुने विश्वास लिइएको छ।