काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनीका एक–दुई ठाउँमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग तथा बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी प्रदेशका सबै भूभागसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ। तराईका केही स्थानमा बिहानको समयमा कुहिरोसमेत लाग्न सक्ने महाशाखाले जनाएको छ। राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।