काठमाडौं ।वीरगञ्जस्थित प्रसिद्ध गहवा माइको दोस्रो चुनरी यात्राको तयारी तीव्र पारिएको छ।
वडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाका अवसरमा आयोजना हुने चुनरी यात्रालाई भव्य र व्यवस्थित बनाउन आयोजकले आवश्यक तयारी अघि बढाएको जनाएको छ। माइस्थान मन्दिर परिसरमा हिन्दू पत्रकार संघ नेपालको आयोजनामा आयोजित पत्रकार सम्मेलनमार्फत विश्व हिन्दू परिषद् नेपालले चुनरी यात्राको तयारीबारे जानकारी गराएको हो। हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा यात्राको व्यवस्थापन, सुरक्षा तथा सहभागिताबारे जानकारी दिइएको थियो।
आयोजकका अनुसार घटस्थापनाका दिन दिउँसो २ बजे माइस्थान मन्दिर परिसरबाट चुनरी यात्रा सुरु हुनेछ। यात्रामा विभिन्न बाजागाजासहित देवीदेवताका आकर्षक झाँकी प्रदर्शन गरिनेछ। यात्रालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विश्व हिन्दू परिषद्का स्वयंसेवक, स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थाको सहभागितामा सुरक्षा तथा व्यवस्थापनको प्रबन्ध मिलाइने आयोजकले जनाएको छ।
यस वर्षको चुनरी यात्रामा करिब १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यात्रामा स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ। पत्रकार सम्मेलनमा विश्व हिन्दू परिषद्का विभिन्न जिम्मेवारीमा रहेका महिला पदाधिकारी तथा सदस्यसहित आयोजक पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।