काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाई ठेक्कासम्बन्धी विवरणमा हेरफेर गरेको आरोपमा पक्राउ परेका आठ निर्माण व्यवसायीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
शुक्रबार पक्राउ परेका उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट म्याद लिइएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।पक्राउ पर्नेमा भक्तबहादुर लामा, विष्णुमान लामा, किरण मल्ल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, ऋतबहादुर कार्की, स्वेदश पोखरेल र गंगाबहादुर सिलवाल रहेका छन्। उनीहरूमाथि इ–बिडिङ प्रणालीमा गैरकानुनी रूपमा प्रवेश गरी ठेक्काका विवरण परिवर्तन गरेको आरोप छ।
यस प्रकरणमा प्रहरीले यसअघि वैशाखमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनामाथि अनुसन्धान गरी मुद्दा चलाएको थियो। अहिले पक्राउ परेका निर्माण व्यवसायीहरू सोही घटनाको अनुसन्धानको दोस्रो चरणअन्तर्गत कारबाहीमा परेको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का एआईजी उमाप्रसाद चतुर्वेदीले बताएका छन्।प्रहरीले घटनासँग सम्बन्धित थप पक्षबारे अनुसन्धान जारी राखेको जनाएको छ।