काठमाडौं ।सभामुख डोलप्रसाद डीपी अर्यालले जलवायु संकटलाई विश्वभरका संसद्को नियमित छलफलको विषय बनाउन सांसदहरूलाई आग्रह गरेका छन्।
तान्जानियामा जारी अन्तरव्यवस्थापिका संघ आईपीयू को १५३औँ महासभालाई मंगलबार सम्बोधन गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनबाट उत्पन्न संकटलाई प्राथमिकताका साथ संसदीय एजेन्डामा समेट्न विश्वका सांसदहरूलाई आह्वान गरेका हुन्।सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्राकृतिक विपद्, मानवीय तथा आर्थिक क्षति र हिमालय क्षेत्रमा बढ्दो जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
अर्यालले नेपालका संसद्मा जलवायु परिवर्तन, त्यसका प्रभाव, जलवायुजन्य विपद्, हिमालयको संकट तथा जलवायु वित्तमा नेपालको सीमित पहुँचजस्ता विषय निरन्तर उठ्दै आएको बताए।उनले हिमालको संरक्षण विश्वकै भविष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै हिमालय सुरक्षित भए मात्र मानव सभ्यता, जलस्रोत, जैविक विविधता र भावी पुस्ताको सुरक्षा सुनिश्चित गर्न सकिने धारणा राखे।सभामुख अर्यालले नेपाल विश्वका संसद् र सांसदहरूसँग सहकार्य गर्दै समावेशी, उत्तरदायी तथा जनमुखी लोकतान्त्रिक शासन प्रणालीलाई थप बलियो बनाउन प्रतिबद्ध रहेको पनि बताए।