काठमाडौं ।काठमाडौं र सिन्धुलीबाट संरक्षित वन्यजन्तुको अंगजस्तो देखिने वस्तुसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट करिब १४० ग्राम तौलको भालुको पित्तजस्तो देखिने वस्तु बरामद गर्दै प्रहरीले नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–१ सिसनियाका ३१ वर्षीय योगेन्द्रप्रसाद चौधरीलाई पक्राउ गरेको हो।केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०बाट परिचालित प्रहरी टोलीले आइतबार चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ। बरामद वस्तुसहित उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको छ।
यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–१४ तल्लो रानीबासबाट हात्तीको दाह्राजस्तो देखिने करिब ६ किलोग्राम तौलको वस्तुसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सोही वडाका ६० वर्षीय सोमबहादुर माझी र महोत्तरीको बर्दिबास नगरपालिका–५ का ६० वर्षीय चित्रबहादुर विश्वकर्मा रहेका छन्। उनीहरूलाई सोमबार सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार दुवै घटनामा बरामद वस्तु र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।