काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतको आदेशसँगै तोकिएको धरौटी रकम बुझाएपछि उनी रिहा हुने भएका छन्। प्रसाईंलाई गत असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा अघि बढाइएको थियो। प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडालाई लक्षित गर्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो। उनले सांसदको विषयलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो। अदालतले मुद्दाको सुनुवाइका क्रममा प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी माग गर्दै हाललाई रिहा गर्ने आदेश दिएको हो।