काठमाडौं ।पोखरा महानगरपालिकाले न्युरोडमा रहेको आफ्नो पुरानो प्रशासनिक भवन हटाउने काम सुरु गरेको छ।
२०८२ भदौमा भएको आन्दोलनका क्रममा भवनमा क्षति पुगेपछि प्रयोगविहीन अवस्थामा रहेको संरचना भत्काउने जिम्मेवारी सेसिका सप्लायर्सले पाएको छ।पुरानो भवन हटाउने काम अघि बढेसँगै महानगरले नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रिया पुनः अगाडि बढाउने तयारी गरेको छ। लामो समयदेखि रोकिएको भवन निर्माण योजनालाई अब गति दिने महानगरको योजना छ।आन्दोलनपछि महानगरपालिकाले नयाँबजारबाट अस्थायी रूपमा प्रशासनिक सेवा सञ्चालन गर्दै आएको छ। त्यसका लागि महानगरले मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडा तिर्दै आएको छ। नियमित रूपमा ठूलो रकम भाडामा खर्च भइरहेकाले स्थायी प्रशासनिक भवन निर्माणलाई महानगरले प्राथमिकतामा राखेको जनाएको छ।
यसअघि पोखरा–१७ बिरौटामा करिब २ अर्ब रुपैयाँको लागतमा सुविधासम्पन्न प्रशासनिक केन्द्र निर्माण गर्ने योजना बनाइएको थियो। तर संघ र प्रदेश सरकारबाट अपेक्षित बजेट उपलब्ध हुन नसक्नुका साथै महानगरको आन्तरिक स्रोत पनि सीमित भएपछि उक्त योजना अघि बढ्न सकेन।योजना कार्यान्वयनमा ढिलाइ भएपछि महानगरले निर्माण लागत घटाउने गरी नयाँ विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी कार्यपालिका बैठकबाट स्वीकृत गरेको छ। नयाँ योजनाअनुसार करिब ६५ करोड रुपैयाँको लागतमा प्रशासनिक भवन निर्माण गर्ने तयारी गरिएको छ।महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार स्वीकृत नयाँ डीपीआरअनुसार भवन निर्माणको प्रक्रिया अब छिट्टै अघि बढाइनेछ।
नयाँ प्रशासनिक भवन बनेपछि पनि महानगरका सबै सेवा एउटै भवनबाट सञ्चालन नहुने भएका छन्। योजनाअनुसार कृषि महाशाखा मालेपाटन र स्वास्थ्य महाशाखा साविक लेखनाथ नगरपालिकाको भवनबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।