काठमाडौं । पछिल्लो एक वर्षमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या उल्लेख्य रहेको देखिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा १ लाख १४ हजार ९२४ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्। शिक्षा मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या निरन्तर उच्च रहँदै आएको छ। मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो। प्रतिवेदनअनुसार चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका ४९८, स्नातकोत्तर तहका ८२, फेलोसिपका १४, डीएम/एमसीएचका १२ र पीएचडीका १५ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र पाएका छन्। चिकित्सा शिक्षातर्फ मात्रै कुल ६२१ जना विद्यार्थीलाई एनओसी जारी गरिएको मन्त्रालयले जनाएको छ।
विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र उपलब्ध गराउनुका साथै विदेशी मुद्रा सटहीका लागि आवश्यक सिफारिस गर्ने कामसमेत मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले गर्दै आएको छ।मन्त्रालयका अनुसार निजी खर्च वा छात्रवृत्तिमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ। सोही प्रक्रियाअनुसार विदेश अध्ययनमा जाने विद्यार्थीलाई मन्त्रालयले एनओसी जारी गर्दै आएको हो। पछिल्लो तथ्यांकले नेपाली विद्यार्थीको विदेशमा उच्च शिक्षा अध्ययन गर्ने क्रम अझै ठूलो रहेको देखाएको छ।