काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा भएको बाढी तथा अन्य विपद्को वास्तविक कारण पत्ता लगाउन गम्भीर वैज्ञानिक अध्ययन गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै लामाले बाढीपछि क्षेत्रमा देखिएको असामान्य रासायनिक गन्ध र पाउडरजस्तो पदार्थको विषयमा समेत अनुसन्धान आवश्यक रहेको बताइन्।
उनका अनुसार बाढीका कारण स्थानीय बस्ती र समुदायमा ठूलो क्षति पुगेको छ। प्रभावित परिवारलाई जोखिमयुक्त स्थानबाट सुरक्षित क्षेत्रमा स्थानान्तरण गरी पुनर्स्थापनाको व्यवस्था तत्काल गर्नुपर्ने उनले बताइन्। साथै बाढीपछि देखिएका असामान्य पदार्थ र गन्धको नमुना परीक्षण गरी त्यसको स्रोत र प्रभावबारे वैज्ञानिक निष्कर्ष निकाल्नुपर्ने उनको माग छ।
सांसद लामाले फुर्के खोलामा तत्काल बेलीब्रिज निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। यसबाट धादिङ, गोरखा र नुवाकोटका नागरिकको आवतजावत सहज हुने उनको भनाइ छ। उनले तिप्लिङ–साँकोस–सोमदाङ सडकलाई दीर्घकालीन रूपमा स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने सुझावसमेत दिइन्।बाढीबाट अभिभावक गुमाएका बालबालिका तथा सहारा गुमाएका ज्येष्ठ नागरिकका लागि राज्यले दीर्घकालीन संरक्षणको व्यवस्था गर्नुपर्ने लामाले बताइन्। बौद्ध समुदायका मृतक परिवारलाई स्थानीय तह र लामा गुरुसँग समन्वय गरी परम्पराअनुसार काजकिरिया तथा संस्कार पूरा गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ।
लामाले भविष्यमा यस्ता विपद् दोहोरिन नदिन हिमताल फुट्ने सम्भावना, जलवायु परिवर्तन तथा विपद्का अन्य कारणबारे वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिइन्।पूर्वाधार निर्माणका क्रममा पर्याप्त प्राविधिक अध्ययन नगर्दा जोखिम बढ्ने गरेको उल्लेख गर्दै उनले विकास निर्माणमा ‘डोजर संस्कृति’लाई निरुत्साहित गर्नुपर्ने बताइन्। सडक, पुललगायत ठूला संरचना निर्माण गर्दा स्थानीय दबाबभन्दा प्राविधिक अध्ययन, वैज्ञानिक मापदण्ड र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।राहत वितरणमा भइरहेको ढिलाइ अन्त्य गरी वास्तविक प्रभावितको पहिचान गरेर छिटो राहत उपलब्ध गराउनसमेत उनले सरकारसँग आग्रह गरेकी छन्।