काठमाडौं ।डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारमा कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु।प।प्र।०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १२० मिटर तल खसेको हो।ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाइरहेका थिए।
दुर्घटनाको खबर पाएलगत्तै घण्टेश्वर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको नेतृत्वमा प्रहरी टोली तथा ट्राफिक प्रहरी घटनास्थल पुगेको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ।घाइतेहरूको अवस्था र दुर्घटनाको थप कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।