काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले उनको अनुसन्धानसँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरसम्बन्धी जाहेरीमा प्रहरीले गरेको अनुसन्धान तथा म्याद थपका सम्पूर्ण सक्कल कागजात अदालतमा पेस गर्न आदेश दिएको हो।सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयमार्फत उक्त फाइल झिकाएर इजलाससमक्ष प्रस्तुत गर्न भनेको छ। आवश्यक अध्ययनपछि फाइल सम्बन्धित निकायले फिर्ता लैजान सक्ने आदेशमा उल्लेख छ।
यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको आधार र कारण खुलाउँदै ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न सम्बन्धित निकायलाई आदेश दिएको थियो।प्रसाईंलाई असार १२ गते नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐनसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रसाईंले आफ्नो युट्युब सामग्रीमार्फत सांसद खतिवडासँग सम्बन्धित विषयमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको थियो। सोही घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्।बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले सक्कल अनुसन्धान फाइल झिकाउने आदेश दिएसँगै अब अदालतले अनुसन्धान र म्याद थपसम्बन्धी कागजातको अध्ययन गर्ने भएको छ।