काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओ को विद्युतीय खरिद प्रणाली ‘ई–जिपी’ मा अनधिकृत रूपमा प्रवेश गरी ठेक्कासम्बन्धी विवरणमा फेरबदल गरेको आरोपमा पक्राउ परेका आठ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार प्राविधिक अनुसन्धान र विश्लेषणका क्रममा संलग्नता देखिएका आठ जनालाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई असोज १६ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि विभिन्न सार्वजनिक ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि त्यससँग सम्बन्धित कागजातमा अनधिकृत रूपमा परिवर्तन गरेको आरोप छ।
घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेकाहरूमाथि विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको साइबर ब्यूरोले जनाएको छ।प्रहरीले ई–जिपी प्रणालीमा भएको भनिएको अनधिकृत पहुँच, कागजात हेरफेर तथा त्यसमा संलग्न व्यक्तिको भूमिकाबारे थप प्राविधिक अनुसन्धान गरिरहेको जनाएको छ।