काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आगामी साता भारत भ्रमणमा जाने भएका छन्।
बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलोपटक आयोजना हुन लागेको बैठकमा सहभागी हुन उनी नयाँदिल्ली जान लागेका हुन्। गृह मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ। गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ। गुरुङले असोज २७ गते नयाँदिल्लीमा आयोजना हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।
गृहमन्त्रीस्तरीय बैठकअघि सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक आयोजना हुने नेपाली अधिकारीहरूले बताएका छन्। गृह सचिवस्तरीय छलफलबाट आएका विभिन्न विषय तथा सिफारिसलाई गृहमन्त्रीहरूको बैठकमा अघि बढाइने तयारी छ। सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकमा पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक हुन लागेको हो। बैठकमा सदस्य राष्ट्रबीचको क्षेत्रीय सुरक्षा, कानुन कार्यान्वयन, सुरक्षा निकायबीचको समन्वय तथा साझा सुरक्षा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
बैठकबारे जानकार एक नेपाली अधिकारीका अनुसार यसअघि गृह सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारस्तरका बैठकबाट सिफारिस भएका विषयलाई गृहमन्त्रीस्तरीय छलफलमा प्रस्तुत गरिनेछ। भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता हुन सक्ने अपेक्षा गरिएको छ। यसअघि २०१८ अगस्ट ३० र ३१ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन, गुप्तचर तथा सुरक्षा निकायबीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। क्षेत्रीय सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने प्रयास भइरहेका बेला बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक नयाँदिल्लीमा हुन लागेको हो। बैठकले सदस्य राष्ट्रबीच सुरक्षा क्षेत्रमा सहकार्यका नयाँ आधार तय गर्ने अपेक्षा गरिएको छ।