काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउने तयारी गरेको छ।
संशोधित व्यवस्थाअनुसार अब उपसभापति र महामन्त्रीको संख्या बढ्नुका साथै महिला सहभागितालाई समेत अनिवार्य बनाइने भएको छ। प्रस्तावित विधानअनुसार कांग्रेसमा अब चार जना उपसभापति रहनेछन्। तीमध्ये एक जनालाई वरिष्ठ उपसभापति बनाउने व्यवस्था गर्न लागिएको छ। चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने प्रावधान पनि राखिनेछ। त्यस्तै, महामन्त्रीको संख्या पनि दुईबाट बढाएर तीन जना पुर्याउने तयारी छ। तीन महामन्त्रीमध्ये एक जना महिला हुने व्यवस्था प्रस्ताव गरिएको छ। उपसभापति र महामन्त्री सबै पदमा निर्वाचनमार्फत नेतृत्व चयन हुने व्यवस्था रहनेछ।
कांग्रेसले सहमहामन्त्रीको संख्या पनि बढाउने भएको छ। हाल ११ जना सहमहामन्त्री रहने व्यवस्था रहेकामा त्यसलाई बढाएर १३ जना पुर्याउने तयारी गरिएको छ। प्रस्तावित संरचनाअनुसार आठ जना समावेशी समूहबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र तीन जना सभापतिबाट मनोनीत हुनेछन्। यसअघि समावेशी समूहबाट आठ जना सहमहामन्त्री चयन हुने व्यवस्था थियो। नयाँ संरचना कार्यान्वयनमा आएपछि कांग्रेसको कुल पदाधिकारी संख्या २१ सदस्यीय हुने बताइएको छ। केन्द्रीय सदस्यको संख्यामा पनि वृद्धि गर्ने तयारी भइरहेको छ। खुलातर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ३५ बाट बढाएर ४५ पुर्याउने प्रस्ताव अघि सारिएको छ।
खुलातर्फको संख्या बढेपछि अन्य समावेशी समूहको प्रतिनिधित्वसमेत बढाउनुपर्ने आवाज पार्टीभित्र उठेको एक शीर्ष नेताले बताएका छन्। ती नेताका अनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा सहमति बनिसकेको छ। यद्यपि, केन्द्रीय समितिको अन्तिम संख्या कति बनाउने भन्ने विषयमा भने अझै छलफल जारी छ। यसअघि कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय बनाउने गरी विधान संशोधन गरिएको थियो। अब पदाधिकारीसँगै केन्द्रीय सदस्यको संख्या थपेर पार्टीको केन्द्रीय संरचनालाई थप ठूलो बनाउने तयारी कांग्रेसले गरेको हो।