काठमाडौं ।प्रधान सेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा उनी बेलायत गएका हुन्।नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देलको भ्रमण आगामी २५ गतेसम्म रहनेछ। भ्रमणका क्रममा नेपाल र बेलायतबीचको लामो समयदेखिको सैन्य सहकार्य तथा आपसी सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।बेलायत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।
नेपाली सेनाले प्रधान सेनापतिको भ्रमणले दुई देशबीच कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने जनाएको छ। साथै, सैनिक कूटनीतिक माध्यमबाट नेपालको समग्र परराष्ट्र सम्बन्धमा समेत सकारात्मक योगदान पुग्ने सेनाको अपेक्षा छ।प्रधान सेनापति सिग्देल विदेश भ्रमणमा रहेका बेला बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।