काठमाडौं ।बाँकेमा धान पाक्ने समय नजिकिँदै गर्दा विभिन्न क्षेत्रमा बालीमा रोगको समस्या देखिन थालेपछि किसान चिन्तित बनेका छन्।
विशेषगरी धानको पातमा दाग देखिने र क्रमशः बोट सुक्दै जाने समस्या देखिएको किसानहरूले बताएका छन्।डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीका अनुसार केही दिनयता धानका पातमा पानीले भिजेजस्ता देखिने साना खैरो–हरिया दाग देखिन थालेका छन्। समयमै नियन्त्रण हुन नसके त्यस्ता दाग फैलिँदै गएर बोट नै सुक्ने अवस्था आएको उनको भनाइ छ।यस वर्ष धानको उत्पादन राम्रो हुने अपेक्षा गरेका किसानहरूमा पाक्ने बेलामै रोग देखिएपछि उत्पादनमा असर पर्ने चिन्ता बढेको छ। बुढाथोकीले सम्बन्धित वडा कार्यालय र गाउँपालिकाको कृषि शाखालाई समस्याबारे जानकारी गराए पनि तत्काल रोकथामका प्रभावकारी कदम चालिन नसकेको गुनासो गरे।
नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतको खेतमा पनि यस्तै समस्या देखिएको छ। उनका अनुसार केही समयअघि भएको भारी वर्षा र हावाहुरीका कारण धान ढलेपछि अहिले त्यही बालीमा रोगको समस्या समेत देखिन थालेको हो।कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जिल्लाका केही स्थानमा धानमा रोगको संक्रमण देखिएको जानकारी आएको बताइन्। तर, रोगका कारण भएको क्षतिको वास्तविक विवरण भने अझै संकलनको क्रममा रहेको उनले जानकारी दिइन्।उनका अनुसार पालिकामार्फत विभिन्न क्षेत्रमा धानमा देखिएको रोगको अवस्था, प्रभावित क्षेत्र र सम्भावित क्षतिको विवरण संकलन भइरहेको छ।
कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये करिब ३३ हजार ५७० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। चालु वर्ष भने जिल्लामा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको केन्द्रले जनाएको छ।