काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेबाट निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। सोही समयमा मतदाता नामावली प्रकाशन गरिनेछ। मतदाता नामावलीमाथि साँझ ५ बजेदेखि ६ः३० बजेसम्म दाबीविरोध गर्न सकिनेछ। त्यसपछि ६ः३० देखि ७ः३० बजेसम्म दाबीविरोधमाथि जाँचबुझ गरिनेछ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।
त्यसैगरी असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको पहिलो अन्तिम नामावली प्रकाशन हुनेछ। ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध तथा ५ः३० देखि ६ः३० बजेसम्म त्यसउपर जाँचबुझ गरिनेछ। राति ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यतालिका छ। असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारीमा आवश्यक संशोधन गर्न सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि उम्मेदवारहरूले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।
तीन स्थानमा मतदान
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि तीनवटा स्थान तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसँगै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि मतदान केन्द्र रहनेछ। त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।