काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको कार्यक्रम हुँदैछ। आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि सोमबारदेखि महाधिवेशनको बन्द सत्र सुरु हुन लागेको हो।
महाधिवेशनको कार्यतालिकाअनुसार आज बिहान ९ बजेदेखि बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक विषयसँग सम्बन्धित प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्द सत्रमा पार्टीको आगामी राजनीतिक दिशा, समसामयिक विषय तथा संगठनसँग सम्बन्धित विषयमा छलफल हुनेछ।
यसैबीच, १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढाइने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार साँझदेखि निर्वाचनसम्बन्धी प्रारम्भिक प्रक्रिया सुरु हुने जनाइएको छ। आइतबार काठमाडौंमा आयोजित उद्घाटन समारोहसँगै कांग्रेसको १५औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको थियो। यद्यपि पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने उद्घाटन समारोहमा सहभागी भएको थिएन। आजको बन्द सत्र र त्यसपछि अघि बढ्ने निर्वाचन प्रक्रियालाई महाधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।