काठमाडौं ।विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमा बाधक हुँदैन भन्ने उदाहरण दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले प्रस्तुत गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटमा पुगेको कोरियाली टोली अहिले क्षतिग्रस्त घर तथा बस्तीको सरसफाइ र पुनरुत्थानमा जुटेको छ।गत साता नेपाल आएको आठ सदस्यीय टोलीले विदुर नगरपालिका–१ ढुङ्गे बजार क्षेत्रमा प्रभावित घरहरूको सरसफाइ गरिरहेको छ। स्थानीय वडा कार्यालयबाट अनुमति लिएर करिब १० दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत टोलीले घरभित्र जमेको माटो हटाउने, ढुंगा पन्छाउने तथा भाँचिएका काठ र बिम हटाउनेलगायतका काम गरिरहेको छ।
लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी छन्। टोलीमा ८४ वर्षीय किम साङ्ग कि समेत सहभागी छन्। विदेशी स्वयंसेवकहरू कठिन परिस्थितिमा समेत प्रभावित घरको सरसफाइमा जुटेको देख्दा आफूहरूलाई पनि पुनर्निर्माणमा सक्रिय हुन प्रेरणा मिलेको स्थानीयले बताएका छन्।
‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डि कोरिया’को सहकार्यमा ‘९११ सर्च एण्ड रेस्क्यु’ टोली नेपाल आएको हो। टोलीका नेता लि खाङ उले विपद्मा परेको समुदायलाई अर्को समुदायले सहयोग गर्नुपर्ने मानवीय भावनाका साथ आफूहरू नेपाल आएको बताए।उनका अनुसार प्रभावित परिवारलाई प्रत्यक्ष सहयोग गर्नुका साथै सामूहिक प्रयासबाट विपद्पछिको पुनरुत्थान सम्भव हुन्छ भन्ने सन्देश दिन अभियान सञ्चालन गरिएको हो। यसअघि पनि उक्त टोली नेपालमा आएको विनाशकारी भूकम्पका क्रममा उद्धार तथा राहत कार्यमा सहभागी भएको उनले बताए।
लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्स संस्थाबीचको सम्बन्धलाई मानवीय सेवामा प्रयोग गर्न अभियानले सहयोग पुगेको बताए। उनका अनुसार विपद्का बेला एक देश वा समुदायले अर्को देश तथा समुदायलाई सहयोग गर्ने संस्कारले आपसी सम्बन्ध र भाइचारालाई थप मजबुत बनाउँछ।
विपद् व्यवस्थापन राज्य वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई समुदाय र अन्तर्राष्ट्रियस्तरमै साझा दायित्व भएको सन्देशसमेत कोरियाली टोलीको सेवाले दिएको छ। दशदिने सेवा अभियानका लागि नेपाल आएको टोली अक्टोबर ७ मा दक्षिण कोरिया फर्किने जानकारी टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले दिएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा भग्नावशेष हटाउन एक्स्काभेटर, ब्याकहो लोडर, टिप्परलगायत उपकरण तथा जनशक्ति परिचालन भइरहेको छ।