काठमाडौं । नेपाली कांग्रेसकी उषा सापकोटाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सापकोटाले १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नभई पार्टीले आगामी दिनमा लिने दिशा तय गर्ने निर्णायक क्षणका रूपमा लिनुपर्ने बताएकी छन्।उनले कांग्रेसलाई अब भाषण र नाराभन्दा पनि स्पष्ट दिशा, परिणाममुखी काम र जिम्मेवारी लिन सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गरेकी छन्। इतिहासमा गर्व गरेर मात्र नपुग्ने भन्दै उनले कांग्रेसले अब भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखेकी छन्। सापकोटाले पार्टीभित्र नयाँ पुस्ताको सहभागितालाई नारामा मात्र सीमित नराखी निर्णय गर्ने तहमा पुर्याउनुपर्नेमा जोड दिएकी छन्। युवालाई अवसरसँगै जिम्मेवारी, भूमिका र नेतृत्वको अधिकार दिनुपर्ने उनको भनाइ छ।
उनले आफू गुटगत सीमाभन्दा माथि उठेर विचारलाई प्राथमिकता दिने, व्यक्तिभन्दा विधिलाई बलियो बनाउने र व्यवहारमै आन्तरिक लोकतन्त्र स्थापित गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। ‘परिवर्तनको कुरा गर्ने मात्र होइन, परिवर्तनको जिम्मेवारी लिने बेला आएको’ उल्लेख गर्दै सापकोटाले आफ्नो उम्मेदवारी व्यक्तिगत पदको आकांक्षा मात्र नभई युवा पुस्ताको प्रतिनिधित्व, पुस्ताबीचको सहकार्य, संगठनको पुनर्जागरण तथा पार्टीभित्रको लोकतान्त्रिक संस्कारलाई थप बलियो बनाउने प्रयास भएको बताएकी छन्।
उनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई आफूले समर्थनभन्दा पनि जिम्मेवारीका रूपमा लिने बताउँदै नयाँ पुस्ताको आवाज र विचारलाई प्राथमिकता दिने नेतृत्वलाई अवसर दिन आग्रह गरेकी छन्। यसैबीच, सापकोटाले १५औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत तथा शुभकामना पनि व्यक्त गरेकी छन्। महाधिवेशनलाई पार्टीको विचार मन्थन गर्ने र संगठनलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिँदै उनले खुला मञ्चमा प्रतिनिधिहरूसँग भेटघाट तथा अनुभव आदानप्रदान गर्न आफू उत्साहित रहेको बताएकी छन्।