काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार राजदूत चाङ कोरला नाका हुँदै नेपाल प्रवेश गरेका हुन्। उनको भ्रमणको विस्तृत उद्देश्यबारे भने प्रशासनलाई औपचारिक जानकारी प्राप्त नभएको बताइएको छ।राजदूत चाङसहितको टोली तीनदिने भ्रमणका लागि लोमान्थाङ पुगेको हो। टोलीमा पाँच जना चिनियाँ नागरिक रहेको जनाइएको छ। भ्रमणपछि टोली कोरला नाका हुँदै चीनतर्फ फर्किने कार्यक्रम रहेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार चिनियाँ राजदूतको भ्रमण कोरला नाकाको अवस्थाबारे जानकारी लिन केन्द्रित रहेको बुझिएको छ।रसुवा र तातोपानी नाका लामो समयदेखि प्रभावित रहेका बेला कोरला नाका सञ्चालनको माग बढिरहेको छ। यही समयमा चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई नाका सञ्चालन र सीमावर्ती व्यापारका दृष्टिले चासोका रूपमा हेरिएको छ।रसुवा र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयबाट दैनिक करिब ३० करोड रुपैयाँ बराबरको राजस्व संकलन हुँदै आएको जनाइएको छ।