काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले भारतस्थित मेदान्त अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण तथा उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले मेदान्त अस्पतालसँग सम्झौता गरेको जनाएको छ ।सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले भारतका विभिन्न स्थानमा सञ्चालित मेदान्तका १३ वटा अस्पतालबाट छुटको सुविधा लिन सक्नेछन् । नयाँ दिल्ली, गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडालगायत शहरमा रहेका अस्पतालबाट सेवा लिँदा यो सुविधा उपलब्ध हुनेछ ।
अस्पतालका अनुसार बहिरङ्ग अर्थात् ओपीडी सेवाअन्तर्गत चिकित्सकको परामर्श, प्रयोगशाला परीक्षण र रेडियोलोजी सेवामा १५ प्रतिशत छुट लागू हुनेछ । त्यस्तै, भर्ना भएर उपचार गराउने आईपीडी सेवामा शय्या शुल्क, प्रयोगशाला तथा रेडियोलोजी सेवामा पनि छुट पाइनेछ ।यसका साथै मेदान्तको ‘स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेज’ अन्तर्गतका सेवामा समेत छुटको व्यवस्था गरिएको छ ।
छुट लिन ग्राहकले अस्पतालको बिल एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । अस्पतालमा उपलब्ध सम्बन्धित सेवामा मात्र लागू हुने यो सहकार्यले बैंकका ग्राहकलाई भारतमा स्वास्थ्य उपचार गराउँदा थप सुविधा पुग्ने बैंकको विश्वास छ ।