काठमाडौं । घोराहीमा सञ्चालनमा रहेको कृषि उपज बिक्री केन्द्र किसान र उपभोक्ता दुवैका लागि उपयोगी बन्दै गएको छ। केन्द्रमा स्थानीय किसानले उत्पादन गरेका ताजा सागसब्जी तथा फलफूल बिक्री गर्ने र उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तो मूल्यमा खरिद गर्ने गरेका छन्।
घोराही उपमहानगरपालिका–१४ की सरिता केसी बिहानै अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुगेर सागसब्जी तथा फलफूल खरिद गर्छिन्। अन्य बजारको तुलनामा यहाँ ताजा कृषि उपज सस्तोमा पाइने भएकाले नियमित रूपमा आउने गरेको उनले बताइन्। उनका अनुसार केन्द्र सञ्चालनमा आएपछि किसानलाई आफ्ना उत्पादन बिक्री गर्न बजारको सुविधा भएको छ भने उपभोक्ताले पनि ताजा कृषि उपज सुपथ मूल्यमा खरिद गर्न पाएका छन्।
घोराही–१५ की सरिता खड्का पनि दैनिकजसो यही केन्द्रबाट सागसब्जी खरिद गर्छिन्। उनका अनुसार पहिले किसानले व्यक्तिगत रूपमा बजार खोजेर उत्पादन बिक्री गर्नुपर्ने अवस्था थियो। अहिले कृषि उपज बिक्री केन्द्रका कारण किसान र उपभोक्ता दुवैलाई सहज भएको छ। उनले बाहिरी बजारको तुलनामा केन्द्रमा राम्रो र ताजा सागसब्जी पाइने बताइन्। बिहान हिँडडुलसँगै आवश्यक तरकारी खरिद गर्न पाइने भएकाले स्वास्थ्य र दैनिक आवश्यकताका हिसाबले पनि केन्द्र उपयोगी बनेको उनको भनाइ छ।
कृषि उपज बिक्री केन्द्रले बिचौलियाको प्रभाव घटाउनसमेत सहयोग गरेको स्थानीयको भनाइ छ। किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि अनावश्यक मूल्यवृद्धिबाट राहत पाउने अवस्था बनेको उनीहरू बताउँछन्। घोराही–७ का किसान रामकुमार चौधरीले आफूले उत्पादन गरेको सागसब्जी केन्द्रमा ल्याएर बिक्री गर्दै आएका छन्। १५ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका उनले बाहिरी बजारको तुलनामा केन्द्रमा केही बढी मूल्यमा उत्पादन बिक्री गर्न पाएको बताए।
उनका अनुसार तरकारी खेतीबाट मासिक करिब १५ देखि २० हजार रुपैयाँ आम्दानी हुने गरेको छ। काउली, बन्दा, गोलभेँडा, साग र खुर्सानीलगायत उत्पादन केन्द्रमै ल्याएर बिक्री गर्ने गरेको उनले जानकारी दिए। चौधरीका अनुसार केन्द्रमा ल्याएको अधिकांश कृषि उपज बिक्री हुने गरेको छ। कहिलेकाहीँ मात्र केही सामान बाँकी रहने गरेको उनले बताए। घोराही–८ की निर्मला चौधरी पनि घरमा उत्पादन भएर खपतपछि बाँकी रहने सागसब्जी बिक्री गर्न केन्द्रमा आउने गर्छिन्। व्यावसायिक खेती नगरे पनि घरमा उत्पादित अतिरिक्त कृषि उपज बिक्री गर्न सहज भएको उनको भनाइ छ।
घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको उक्त केन्द्रमा किसानले दैनिक १५ रुपैयाँ शुल्क तिरेर गाउँबाट ल्याएका ताजा सागसब्जी तथा अन्य कृषि उपज बिक्रीका लागि राख्न पाउँछन्। घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेका अनुसार केन्द्र सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमा पुगेर उत्पादन बिक्री गर्नुपर्ने बाध्यता केही हदसम्म हटेको छ। केन्द्रले किसानलाई व्यवस्थित बजार उपलब्ध गराउनुका साथै उपभोक्तालाई ताजा कृषि उपज सहज रूपमा उपलब्ध गराउन सहयोग गरेको उनको भनाइ छ।