काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज काठमाडौंको खुलामञ्चमा उद्घाटन कार्यक्रम हुँदैछ। महाधिवेशनको बन्दसत्र भने भोलि र पर्सि खुलामञ्चमै सञ्चालन गरिने भएको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार बन्दसत्र पनि खुलामञ्चमै आयोजना गरिनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई भूगोलका आधारमा विभिन्न समूहमा विभाजन गरी छलफल गराउने तयारी कांग्रेसले गरेको छ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने भएकाले बन्दसत्र व्यवस्थापनका लागि करिब ३ हजार प्रतिनिधि अट्ने क्षमताका तीनवटा हल तयार गरिएको कांग्रेसले जनाएको छ।
बन्दसत्र सञ्चालन हुने प्रत्येक हलमा डिजिटल बोर्डसमेत जडान गरिएको छ। एउटा हलमा भइरहेको छलफललाई अन्य हलमा रहेका प्रतिनिधिले पनि डिजिटल बोर्डमार्फत प्रत्यक्ष हेर्न तथा सुन्न सक्ने व्यवस्था मिलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। ठूलो संख्यामा प्रतिनिधिको सहभागिता रहने बन्दसत्रमा डिजिटल प्रविधिको प्रयोगले प्रतिवेदनमाथि हुने छलफललाई सबै प्रतिनिधिले सहज रूपमा पछ्याउन सक्ने कांग्रेसको अपेक्षा छ।