काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव पूर्ण रूपमा हटिनसक्दा पश्चिमी वायुको प्रभावसमेत देखिएको छ।
यसको असरले देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुको आंशिक प्रभाव कायम छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली देखिएको छ। अन्य भूभागमा भने आंशिक बदली रहेको छ। गण्डकीका केही तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहनेछ। तराईका अधिकांश भूभागमा पनि आंशिक बदलीको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुनसक्नेछ। आज राति पहाडी र तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी र बागमतीका हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्न सक्नेछ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराई र मधेसका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।