काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीका विभिन्न पदमा आकांक्षीहरूको चर्चा बढ्दै गएको छ।
यही क्रममा कांग्रेसको राजनीतिक पृष्ठभूमि, मधेश आन्दोलन र विद्यार्थी राजनीतिसँगै संगठनको नेतृत्व तहमा अनुभव हासिल गरेका मनीषकुमार मिश्रको नाम सहमहामन्त्री पदका लागि चर्चामा आउन थालेको छ। कांग्रेसबाटै राजनीतिक यात्रा सुरु गरेका मिश्रले विभिन्न राजनीतिक उतारचढाव पार गर्दै पुनः कांग्रेसमा फर्किएका हुन्। फागुन २१ गते सम्पन्न आमनिर्वाचनका क्रममा गगन थापासँगै उनी नेपाली कांग्रेसमा पुनः समाहित भएको र त्यसपछि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएको विवरण छ।
मिश्रको राजनीतिक यात्रा भने कांग्रेसमा मात्र सीमित रहेन। कांग्रेसबाट राजनीति सुरु गरेका उनी पछि महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए। त्यस क्रममा विद्यार्थी राजनीतिमा समेत सक्रिय रहेका मिश्र विद्यार्थी संगठनको अध्यक्ष हुँदै पार्टीको महासचिवसम्मको जिम्मेवारीमा पुगेका थिए। राजनीतिक यात्राका विभिन्न चरण पार गरेपछि पुनः कांग्रेसमा फर्किएका मिश्र १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका छन्।
यही राजनीतिक पृष्ठभूमिका कारण अहिले कांग्रेस वृत्तमा उनको नाम सहमहामन्त्री पदका सम्भावित आकांक्षीका रूपमा चर्चामा आउन थालेको हो। मधेशका राजनीतिक मुद्दा, विद्यार्थी आन्दोलन र पार्टी संगठनको नेतृत्व तहमा काम गरेको अनुभवलाई आधार बनाएर मिश्रले सहमहामन्त्री पदमा दाबी गर्ने तयारी गरेको चर्चा कांग्रेसभित्र छ। यद्यपि, उनले हालसम्म सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारीबारे औपचारिक घोषणा भने गरिसकेका छैनन्।