काठमाडौं । सडक दुर्घटनामा घाइते भएका व्यक्तिलाई अस्पताल पुर्याउँदा कानुनी झमेलामा परिने डरले सर्वसाधारण पछि हट्ने अवस्था अन्त्य गर्ने उद्देश्यसहित सरकारले नयाँ व्यवस्था प्रस्ताव गरेको छ।
सङ्घीय संसद्मा दर्ता भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा दुर्घटनाका घाइतेलाई तत्काल सहयोग गर्ने ‘असल उद्धारकर्ता’लाई कानुनी संरक्षण दिने प्रस्ताव गरिएको छ। विधेयकको दफा २७ मा सडक दुर्घटनाको सूचना तथा उद्धारसम्बन्धी व्यवस्था गरिएको छ। यसअनुसार असल नियतले दुर्घटनामा परेका व्यक्तिलाई प्राथमिक उपचार, आवश्यक सहायता वा अस्पतालसम्म पुर्याउने क्रममा चोटपटक लागेमा वा मृत्यु भएमा उद्धारकर्तामाथि देवानी तथा फौजदारी दायित्व नलगाइने प्रस्ताव छ।
विधेयकले ‘असल उद्धारकर्ता’ भन्नाले कुनै पुरस्कार वा व्यक्तिगत लाभको अपेक्षा नगरी स्वेच्छाले दुर्घटनास्थलमा पुगेर उचित सावधानी अपनाउँदै प्राथमिक उपचार, हेरचाह वा अन्य सहयोग गर्ने तथा घाइतेलाई अस्पताल पुर्याउने व्यक्तिलाई बुझाएको छ। हाल दुर्घटनामा परेका घाइतेलाई अस्पताल लैजाने व्यक्तिले प्रहरीमा बयान दिनुपर्ने वा उल्टै कानुनी झन्झट व्यहोर्नुपर्ने डरका कारण कतिपय अवस्थामा मानिसहरू उद्धारबाट पछि हट्ने गरेका छन्। विधेयक संसद्बाट पारित भएर ऐनको रूप लिएमा दुर्घटनाका घाइतेलाई तत्काल सहयोग गर्न सर्वसाधारणलाई थप सहज हुने र दुर्घटनापछि समयमै उपचार पाउने सम्भावना बढ्ने अपेक्षा गरिएको छ।