काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा सडक, पुल तथा स्वास्थ्य संस्थाको सेवा प्रभावित भएपछि ३३ जना गर्भवती महिला प्रसूति सेवाका लागि काठमाडौं आएका छन्।
बाढीले स्थानीय स्वास्थ्य संस्था पुग्ने बाटो अवरुद्ध बनाएपछि सुत्केरी हुने समय नजिकिएका महिलालाई सुरक्षित प्रसूति सेवाका लागि काठमाडौं ल्याइएको हो। तीमध्ये प्रसव पीडामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार काठमाडौं आएका ३३ मध्ये ३२ जनाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा र एक जनाले कीर्तिपुर अस्पतालमा बच्चा जन्माएका छन्।
बाढीपछि रसुवा र नुवाकोटका दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवामा पहुँच थप कठिन बनेको छ। सडक तथा पुलमा क्षति पुगेपछि सामान्य अवस्थामा छोटो समयमा स्वास्थ्य संस्था पुग्ने महिलालाई अहिले घण्टौं यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको अधिकारीहरूले बताएका छन्। बाढीका कारण एउटा प्रसूति केन्द्रसमेत क्षतिग्रस्त भएको छ। नयाँ प्रसूति केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण खरिद गरिए पनि सडक सम्पर्क विच्छेद भएकाले उपकरण जडान गर्न समस्या भएको जनाइएको छ।
परिवार कल्याण महाशाखाकी निशा जोशीका अनुसार सम्भावित स्वास्थ्य जोखिम कम गर्न प्रसूति मिति नजिकिएका गर्भवतीलाई काठमाडौं आउन आग्रह गरिएको छ। उनीहरूसँग प्रत्येक दुई सातामा सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरिएको पनि उनले बताइन्। रसुवाको आमाछोदिङ्मो गाउँपालिकालगायत दुर्गम क्षेत्रमा गर्भवती महिलाका लागि अल्ट्रासाउन्ड सेवा लिनसमेत समस्या भएको छ। स्थानीय स्वास्थ्य संस्थामा अल्ट्रासाउन्डको सुविधा नहुँदा गर्भवती महिलाले जिल्ला सदरमुकाम पुग्नुपर्ने अवस्था छ। तर बाढीले सदरमुकाम जोड्ने सडक तथा पुलमा क्षति पुर्याएपछि यो सेवा लिन झनै कठिन भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा दुई स्थानमा तुइन जडान गरिएको भए पनि गर्भवती महिलालाई त्यससम्म पुग्न सहज छैन। तुइन प्रयोग गर्न घण्टौं कुर्नुपर्ने तथा त्यसपछि पनि सदरमुकामसम्म लामो दूरी पैदल हिँड्नुपर्ने अवस्था रहेको बताइएको छ। चिकित्सकहरूका अनुसार गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक हुन्छ। प्रसूतिअघि गर्भवती महिलाले कम्तीमा आठ पटक स्वास्थ्य जाँच गराउनुपर्ने र आवश्यकताअनुसार चिकित्सकले थप परीक्षणको सल्लाह दिन सक्ने बताइएको छ। त्यस्तै, गर्भावस्थाका विभिन्न चरणमा अल्ट्रासाउन्ड परीक्षणसमेत आवश्यक पर्ने चिकित्सकहरूको भनाइ छ।
नियमित गर्भ जाँचबाट गर्भावस्थामै देखिन सक्ने सम्भावित जटिलता पहिचान गर्न र समयमै उपचार तथा आवश्यक व्यवस्थापन गर्न सहयोग पुग्ने विज्ञहरू बताउँछन्। नेपालले मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन निःशुल्क संस्थागत प्रसूति सेवा, नवजात शिशुको निःशुल्क उपचार तथा गर्भ जाँचका लागि नगद प्रोत्साहनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। उपलब्ध तथ्यांकअनुसार सन् १९९६ मा प्रति एक लाख जीवित जन्ममा ५३९ रहेको मातृ मृत्युदर सन् २०१६ मा २३९ मा झरेको थियो। मातृ मृत्युदर घटाउने क्षेत्रमा भएको प्रगतिका लागि नेपालले सहस्राब्दी विकास लक्ष्य पुरस्कारसमेत प्राप्त गरेको थियो।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार सन् २००० यता नेपालमा मातृ मृत्यु ७० प्रतिशतभन्दा बढीले घटेको छ। हाल नेपालमा प्रति एक लाख जीवित जन्ममा १४२ महिलाको प्रसूति तथा मातृत्वसम्बन्धी जटिलताका कारण मृत्यु हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ। नेपालले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ७५ मा झार्ने लक्ष्य राखेको छ।