काठमाडौं ।दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने नागरिकको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले १३ बुँदे सुरक्षा सुझाव सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको सुझावमा लामो समयका लागि घर छाडेर यात्रा गर्नुअघि घरको सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरीले आग्रह गरेको छ। बहुमूल्य गहना, नगद तथा महत्त्वपूर्ण कागजात घरमा असुरक्षित रूपमा नराखी बैंकको लकरमा सुरक्षित गर्न सुझाव दिइएको छ।घर तथा कोठाका ढोका–झ्याल राम्रोसँग बन्द गरी आफू बाहिर जान लागेको जानकारी विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई दिन पनि प्रहरीले अनुरोध गरेको छ।प्रहरीले अपरिचित व्यक्तिलाई घर, कोठा वा कार्यालयमा प्रवेश नदिन तथा कुनै शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न भनेको छ।
चाडपर्वका बेला जुवा, तास, लङ्गुरबुर्जालगायत गैरकानुनी गतिविधिमा संलग्न नहुन पनि प्रहरीले आग्रह गरेको छ। मदिरा सेवनपछि झैझगडा, होहल्ला वा सार्वजनिक रूपमा अशान्ति सिर्जना गर्ने गतिविधिबाट टाढा रहन सुझाव दिइएको छ।यात्राका क्रममा नगद, गहना तथा अन्य मूल्यवान सामग्रीको सुरक्षित व्यवस्थापन गर्न र बजारमा मूल्यसूचीभन्दा बढी रकम असुलिएको वा ठगी भएको आशंका लागेमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन प्रहरीले भनेको छ।अनलाइन किनमेल गर्दा आकर्षक अफर देखाएर पठाइएका शंकास्पद वेबसाइट, लिंक वा सामाजिक सञ्जालका विज्ञापनमा विश्वास नगर्न पनि प्रहरीले सचेत गराएको छ। नक्कली टिकट, अनलाइन ठगी तथा अवैध कारोबारबाट समेत सावधान रहन सुझाव दिइएको छ।
सवारी साधन चलाउँदा मदिरा सेवन नगर्न र ट्राफिक नियम अनिवार्य रूपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ। भीडभाड हुने स्थानमा आफ्ना सामानको सुरक्षा गर्नुका साथै बालबालिका र ज्येष्ठ नागरिकमाथि विशेष ध्यान दिन पनि भनिएको छ।प्रहरीले पटका तथा आतसबाजी जस्ता जोखिमपूर्ण सामग्री प्रयोग नगर्नसमेत अनुरोध गरेको छ। ‘छिटो कमाइ’, ‘लक्की अफर’ वा ‘उपहार जितियो’ जस्ता सन्देश ठगीका माध्यम हुन सक्ने भएकाले त्यस्ता सन्देशप्रति सचेत रहन नागरिकलाई आग्रह गरिएको छ।हाम्रो सुरक्षा, हाम्रो जिम्मेवारी’ भन्ने सन्देशसहित प्रहरीले चाडपर्वलाई सुरक्षित बनाउन नागरिक र प्रहरीबीच सहकार्य आवश्यक रहेको जनाएको छ।