काठमाडौं ।दसैँ र तिहारलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा व्यवस्था लागू गर्ने भएको छ।
परिसरले शुक्रबार सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार चाडपर्वका बेला काठमाडौं जिल्लामा ३ हजार ५ सय ६ जना सुरक्षाकर्मी परिचालन गरिनेछ।भद्रकालीस्थित प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापाले बर्दीधारीसँगै सादा पोशाकका प्रहरीलाई समेत विभिन्न क्षेत्रमा खटाइने जानकारी दिए।चाडपर्वको समयमा सुरक्षा जोखिम बढेमा थप प्रहरी परिचालन गर्ने तयारी रहेको उनले बताए। दसैँ तथा तिहारमा चोरी, ठगी, लुटपाट र सार्वजनिक स्थानमा हुने दुर्व्यवहारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ।
भीडभाड हुने स्थान तथा चोकहरूमा सर्वसाधारणको झोला तान्ने, सामान चोरी गर्ने वा दुर्व्यवहार हुन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि विशेष निगरानी गरिने थापाले बताए।सुरक्षा योजनाअन्तर्गत प्रहरीलाई २२ वटा फरक जिम्मेवारीमा परिचालन गरिनेछ। काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने नाकाहरूमा समेत सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरीले जनाएको छ।नाकामा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी शंकास्पद वस्तु तथा व्यक्तिमाथि निगरानी र जाँच गरिनेछ। त्यसका साथै काठमाडौंका विभिन्न क्षेत्रमा जडान गरिएका सीसीटीभीमार्फत गतिविधिको निरन्तर निगरानी गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।