काठमाडौं ।साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ओरालो लागेको छ।
नेप्से आज ११ दशमलव ९० अंक घटेर २ हजार ५ सय ८७ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको हो।कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि बजार समग्रमा राताम्मे देखिएको छ। आज ६१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।शुक्रबार बजारमा कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभर १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ।
कुल ४३ हजार ६ सय ८५ पटक भएको कारोबारमा ३ सय ५६ वटा स्क्रिप्स कारोबारमा सहभागी भएका थिए।उपसमूहतर्फ पनि अधिकांश सूचक घटेका छन्। म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। त्यसैगरी लाइफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक र हाइड्रोपावर समूहमा समेत उल्लेख्य कमी आएको छ।आजको कारोबारमा एनएमबी बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले तुलनात्मक रूपमा राम्रो मूल्यवृद्धि पाएका छन्। यता, सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले घटेको छ।