काठमाडौं ।जुम्लामा दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० क्विन्टल चिनी ल्याउने तयारी गरेको छ।
चाडपर्वको समयमा चिनीको माग बढ्ने भएकाले कम्पनीको केन्द्रीय कार्यालयले जुम्लाका लागि उक्त परिमाणमा चिनी पठाउने निर्णय गरेको हो। शाखा कार्यालयका प्रमुख मनोज जोशीका अनुसार चिनी तीन दिनभित्र सदरमुकाम खलङ्गास्थित डिपोमा आइपुग्नेछ।चिनी आएपछि उपभोक्ताले प्रतिव्यक्ति अधिकतम पाँच किलोसम्म प्रतिकिलो ११० रुपैयाँको सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्। बजारमा चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने तथा अभाव हुनसक्ने अवस्थालाई ध्यानमा राखेर सहुलियत दरमा चिनी उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
कम्पनीले उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्न र तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न पनि आग्रह गरेको छ।यस्तै, जुम्लास्थित खाद्य कम्पनीको शाखामा हाल दुई हजार १सय क्विन्टल चामल मौज्दात रहेको छ। चालु आर्थिक वर्षका लागि सरकारले जिल्लामा ६ हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेकोमा हालसम्म तीन हजार ८ सय क्विन्टल चामल जुम्ला पुगिसकेको छ।असोजको दोस्रो सातासम्म करिब दुई हजार ७ सय क्विन्टल चामल बिक्री भइसकेको कम्पनीले जनाएको छ। दसैँ नजिकिँदै जाँदा दैनिक करिब ९० क्विन्टलसम्म चामल बिक्री भइरहेको शाखा प्रमुख जोशीले जानकारी दिए।
दसैँअघि पातारासी गाउँपालिकाको लुम र गुठीचौर गाउँपालिकाको गुठीचौर डिपोबाट थप एक हजार क्विन्टल चामल बिक्री गर्ने तयारी गरिएको छ।त्यसैगरी तिला गाउँपालिकाको जुम्लाकोट, सिञ्जाको धापा तथा हिमा गाउँपालिकाको बाजाँगाडा बिक्री केन्द्रबाट पाँच–पाँच सय क्विन्टल चामल वितरण गरिने शाखा कार्यालयले जनाएको छ।