काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको तयारी अघि बढिरहेका बेला नोभेम्बरमै हुने जलवायु परिवर्तनसम्बन्धी कोप–३१ सम्मेलनमा नेपालको प्रतिनिधित्व कसले गर्ने भन्ने विषय अन्योलमा परेको छ।
प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समन्वय गरिरहेको जनाएको छ। यद्यपि भ्रमणको निश्चित मिति भने तय भइसकेको छैन।यसैबीच, नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा कोप–३१ आयोजना हुँदैछ। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाएका छन्। परराष्ट्र मन्त्रालयले उक्त निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ।
नेपालका लागि जलवायु सम्मेलन महत्वपूर्ण भएकाले सहभागिताको तयारी भइरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। तर सम्मेलनमा प्रधानमन्त्री स्वयं जाने वा अन्य उच्च तहका प्रतिनिधिले नेपालको नेतृत्व गर्ने भन्ने निर्णय भने भइसकेको छैन।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पनि कोप–३१ का लागि तयारी भइरहेको तर प्रतिनिधिमण्डलको नेतृत्वबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्।
यसअघि विभिन्न कोप सम्मेलनमा नेपालको प्रतिनिधित्व फरक–फरक उच्च तहका नेताले गरेका थिए। कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली टोली सहभागी भएको थियो भने कोप–३० मा तत्कालीन अन्तरिम सरकारका कृषि मन्त्री मदनप्रसाद परियारले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। त्यस्तै, कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए।यसपटक नेपाल जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायतका विपद्बाट प्रभावित भइरहेकाले अन्तर्राष्ट्रिय जलवायु मञ्चमा उच्चस्तरीय सहभागिता महत्वपूर्ण हुने अधिकारीहरूको भनाइ छ।
तर नोभेम्बरमै प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी भइरहेकाले दुवै अन्तर्राष्ट्रिय कार्यक्रमको तालमेल कसरी मिलाउने भन्ने प्रश्न पनि उठेको छ। भारत भ्रमण र कोप–३१ सहभागिताको मिति तथा नेतृत्व औपचारिक रूपमा तय नभएकाले परराष्ट्र मन्त्रालयले थप निर्णयको प्रतीक्षा गरिरहेको छ।कोप–३१ जलवायु परिवर्तनसम्बन्धी विश्वका देशहरूबीच छलफल र निर्णय हुने प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो। सम्मेलनमा तापक्रम वृद्धिलाई सीमित गर्ने, जलवायुजन्य जोखिमबाट प्रभावित समुदायलाई अनुकूलनमा सहयोग गर्ने तथा कार्बन उत्सर्जन घटाउने लगायतका विषयमा छलफल हुने गर्छ।